Section 24
सशस्त्र प्रहरीको कर्तव्य र अधिकार
:
(१) सशस्त्र प्रहरीको कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :–
(क) प्रत्येक सशस्त्र प्रहरी हरहमेशा ड्यूटीमा रहेको मानिनेछ र निजले जुनसुकै बखत खटाइएको स्थानमा गई आफ्नो जिम्मेवारी पूरा गर्नु पर्नेछ ।
(ख) आफूभन्दा माथिको दर्जाका सशस्त्र प्रहरीको आज्ञा तदारुकताका साथ पालन गर्नु पर्नेछ ।
(ग) प्रत्येक सशस्त्र प्रहरी आफूलाई वा आफ्नो टोलीलाई सुम्पिएको कामप्रति सचेत र सतर्क रहनु पर्नेछ ।
(घ) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका तथा अन्य प्रचलित कानुनबमोजिम निजले गर्नु पर्ने भनी उल्लेख भएका अन्य काम गर्नु निजको कर्तव्य हुनेछ ।
(२) सशस्त्र प्रहरी अधिकृतले आफू खटिएको क्षेत्रको कुनै घर, ठाउँ वा सवारी साधनमा प्रचलित कानुनबमोजिम निषेधित वस्तु वा अपराधमा संलग्न व्यक्ति रहेबसेकोछ भनी शङ्का गर्नु पर्ने पर्याप्त र मनासिब आधार भएमा प्रचलित कानुनबमोजिम त्यस्तो घर, ठाउँ वा सवारी साधनको खानतलासी गर्न र आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई पक्राउ गरी यथाशक्य चाँडो स्थानीय अन्य प्रहरीलाई सुम्पन सक्नेछ ।